Tuesday, July 2, 2013

शिक्षिकाले पिट्दा आँखाको नानी फुट्यो (News)

शिक्षिकाले पिट्दा आँखाको नानी फुट्यो

नेपालगन्ज, असार १९ - 'होमवर्क' नगरेको भन्दै शिक्षिकाले पिट्दा 'भेरिजोन इङलिस मिडियम स्कुल' मा नर्सरी कक्षा पढ्ने बाँके हिरमिनिया-१ स्थित भनघोटना गाउँका आठवर्षे बालक अजय धोबीको नानी (आँखा) फुटेको छ । बालकले बायाँ आँखाको दृष्टि गुमाएका छन् ।
घटना असार ९ गतेको भए पनि सार्वजनिक गरिएको थिएन । विद्यालयले सबै उपचार खर्च बेहोर्ने भन्दै भोलिपल्टै शल्यक्रिया गराएको थियो, तर एक सातासम्म पनि बालकको 'आँखामा दृष्टि नफर्किएपछि' चिकित्सकले काठमाडौंको तिलगंगा आँखा अस्पताल लैजान सुझाउँदै सोमबार अस्पतालबाट डिस्चार्ज गरेपछि पीडित परिवारले घटनाबारे मंगलबार खुलासा गरेका हुन् ।
यसै वर्ष खुलेको उक्त स्कुलकी शिक्षिका आराधना रानाले किताबले मुखमा हान्दा बायाँ आँखामा लागेर नानी फुटेको हो । चोट लागेर उनी आत्तिएपछि विद्यालयका शिक्षक र सञ्चालकले नेपालगन्जस्थित फत्तेबाला आँखा अस्पताल पुर्‍याएका थिए ।
'बिहान छोराछोरी स्कुल पठाएर तरकारी बेच्न नेपालगन्ज आएको थिएँ,' अजयका बुवा मैकुलाल धोबीले कान्तिपुरसँग भने, 'दिउँसो २ बजेतिर अस्पतालबाट फोन आयो । जाँदा छोराको आँखा फुटेको थाहा पाएँ ।'
चिकित्सकले बालकलाई तत्काल अप्रेसन गर्नुपर्ने बताएपछि विद्यालय सञ्चालक सदस्य मोहनलाल मिश्रले बुवा मैकुलाललाई अस्पताल बोलाएका थिए । सुरुमा उनलाई आँखामा चोट लागेर रगत जमेकाले अप्रेसन गर्नुपर्ने भनिएको थियो । तर, चिकित्सकले छोराको आँखाको नानी च्यातिएको बताएपछि उनी छाँगाबाट खसेझैं भए । असार १० गते विद्यालयकै खर्चमा अप्रेसन गरियो । तर पनि बालक अजयको दृष्टि फर्किएन । चिकित्सकले राजधानीको तिलगंगा आँखा अस्पताल लगेर नानी प्रत्यारोपण गर्नु मात्र एक विकल्प रहेको भन्दै सोमबार डिस्चार्ज गरेपछि धोबी परिवार झनै समस्यामा परेको छ । 'स्कुल पठाएको छोराको यो हाल बनाए, अहिले स्कुलका कोही सम्पर्कमा समेत छैनन्,' ४३ वषर्ीय मैकुलालले दुःखेसो पोखे, 'भेट्दा खर्च बेहोर्छौं भन्छन् । म केही नजानेको गाउँको किसान मान्छे । कसरी काठमाडौं जाने ? अब प्रत्यारोपण गर्न उसलाई कसले देला आँखाको नानी ?'
तरकारी खेती गरेर परिवार पाल्दै आएका उनका पाँच छोरा र दुई छोरी छन् । अजयलाई पाँच वर्षमै स्थानीय सरस्वती निमाविमा भर्ना गरेका थिए । तर तीन वर्षमा पनि अक्षर पढ्नसमेत नसक्ने भएपछि उनले गत वैशाखमा गाउँकै बोर्डिङ स्कुलमा नर्सरीमा भर्ना गराएका हुन् । उनका पाँच वषर्ीय अर्का छोरा पनि सोही स्कुलमा नर्सरीमा पढ्छन् । 'अरूलाई पनि मिसले किताबले हानेकी हुन्, मेरो आँखैमा लाग्यो,' अजयले भने । आँखा दुखेर उनी राति निदाउन सक्दैनन । चिकित्सकले आँखामा थप क्षति हुन नदिन पाँच-पाँच मिनेटमा औषधि हाल्न भनेका छन् ।
विद्यालय सञ्चालक सदस्य मोहनलाल मिश्रले दुर्भाग्यवश घटना भएकामा आफूहरू दुःखी भएको बताए । 'नसोचेको दुर्घटना भयो, विद्यार्थीको उपचारको सम्पूर्ण खर्च बेहोर्न विद्यालय तयार छ,' उनले भने ।
मैकुलालले छोराको आँखामा क्षति पुग्ने गरी पिट्ने शिक्षिकालाई हदैसम्मको कारबाही गर्न र विद्यालय सञ्चालकले औषधि उपचारको सम्पूर्ण खर्च बेहोर्नुपर्ने माग गर्दै प्रहरीमा उजुरी दिने बताएका छन् ।
उनले क्षतिपूर्तिको पनि माग गरेका छन् । विद्यालय सञ्चालकमा स्थानीय मोहनलाल मिश्र, जंगली कुमार, ओरीलाल मुराउ, रवि मिश्र र पंकज मिश्र छन् ।
 बाँकेका निजी विद्यालयमा विद्यार्थीलाई यातना दिने क्रम बढेको छ । दुई साताअघि वेस्टजोन अंग्रेजी माविका शिक्षिकाले लठ्ठीले पिट्दा कक्षा ३ मा अध्ययनरत नौ वषर्ीय विशोक विष्टको शरीरमा नीलडाम भएको थियो । पछिल्ला तीन महिनामा सिविनमा एक दर्जन धेरै बालबालिकाको उजुरी आएको क्षेत्रीय प्रमुख मधुसूदन दवाडीले बताए । तीमध्ये चैत १८ गते एन्जल्स स्कुलमा कक्षा ८ मा अध्ययनरत १३ वर्षीय प्रकाश बुढालाई कानको जाली फुट्ने गरी शिक्षकले पिटेका थिए ।
गत वर्ष शिक्षकले यातना दिएपछि ब्राइटल्यान्ड स्कुलका विद्यार्थीले घर छाडेको घटनाले निकै हल्लीखल्ली मच्चिएको थियो । त्यस्तै, यातना दिने विद्यालय छाडेर अर्को विद्यालय सर्ने घटना पनि प्रशस्तै छन् । 'जिल्ला शिक्षाले नियमित र प्रभावकारी अनुगमन गरेको छैन, अभिभावकले कानुनी उपचार नलिँदा पनि घटना दोहोरिएका हुन्,' दवाडीले भने । गतवर्ष विद्यालयमा दिइएका ६२ उजुरीमध्ये ६१ वटा घटना निजी विद्यालयमा भएको सिविनको तथ्यांक छ ।
- See more at: http://www.ekantipur.com/np/2070/3/19/full-story/371318.html#sthash.X6EWrvwA.dpuf
श्रोत: ekantipur.com

चौपट्टै मन पर्‍यो ...New Lok Dohori Geet 2013 - Chaupattai Man Paryo - by Radhika Hamal & Cholendra Paudel

कती राम्री चट्ट...- by Armita Lungeli